नीति तथा कार्यक्रम, प्राथमिकताविहीन दस्तावेज – काँग्रेस
भैरहवा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट कोरोना संकटबाट बाहिर निस्कन मार्ग्निर्देशन गर्ने विषयमा चुकेको जनाएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नीति तथा कार्यक्रमले व्यापक परिक्षण, पर्याप्त स्वास्थ सामग्री, पर्याप्त राहत, सिमामा अलपत्रलाई प्रवेश, व्यवस्थित क्वारेन्टाइन र विदेशमा अफ्ट्यारोमा रहेकाको उद्दारका विषयमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।
काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रमलाई प्राथमिकताविहीन दस्तावेजको संज्ञा दिनुभयो । काँग्रेसद्वारा गठित छाया सरकारका अर्थमन्त्रीसमेत रहनुभएका रिजालले भन्नुभयो, ‘देशमा यत्रो अप्ठ्यारो अवस्था छ । यो अवस्थामा प्राथमिकताका साथ काम गर्ने हो । लामो दस्तावेज बनाएर समस्या समाधान हुँदैन । ६३ पानाको दस्तावेज आयो । अहिलेको बेलामा हामी कहाँ समस्या यो छ, राजश्व उठाउन यो समस्या हुन्छ, बाहिर दाताहरुको पनि समस्या छ, देशभित्रका उद्योगहरुको यो समस्या छ, पर्यटन जाग्नलाई यति समय लाग्छ र बाहिर रोजगारी गर्ने मान्छे यो कठिनाइमा छ भनेर एउटा बाटो दिन सक्ने दस्तावेज आएन ।’
संकटको बेला नियमित कामसँगै अपवादको काम गर्नुपर्नेमा सरकारले त्यसतर्फ ध्यान पुर्याउन नसकेको डा. रिजालको जिकिर रहेको छ । ‘नियमति काम हुँदै गर्छन् । यतिबेला अपवादका यो यो काम गर्नुपर्छ भनेर प्राथमिकता दिन सकेको भए मात्र यसले बाटो दिन्थ्यो । गत वर्ष २६ पेजबाट यसपालि ६३ पेजमा पुर्याएको छ । यो सरकारले भोलि बजेट कसरी दिन्छ ? यस्तो प्राथमिकताविहीन दस्तावेजबाट पार लाग्दैन,’ उहाँले भन्नुभयो ।
यस्तै काँग्रेस सांसद गगन थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा नेपालमा यत्रो ठूलो कोरोनाको प्रभाव छ भन्ने कुरा सरकारलाई महसुस नभएको पनि बताउनुभयो ।
‘यो वर्ष हाम्रो आर्थिक वृद्धि खुम्चिएर दुई प्रतिशत नजिक आउँछ । हामीलाई हाम्रो दैनिकी सञ्चालन गर्न कठिन हुन्छ । हाम्रो सबै क्षेत्र अस्तव्यस्त हुँदैछ भन्ने कुराको कुनै महसुस नभएको जस्तो देखियो,’ उहाँले भन्नुभयो ‘ यो नीति कार्यक्रमले यतिबेला भरोसा दिने हो । एउटा मार्ग्निर्देशन गर्ने हो । सरकारले यो संकटमा कसरी सम्हाल्छ भन्ने कुरा बनाउने हो नि ? त्यसको कही केही छनक पनि छैन । कोरोना संकटसँग बेसरोकार र निकृयता देखियो । संकट एकातिर छ । यो अर्को्तिर छ ।’
संकटका बेला नेपाल सरकारको उदेकलाग्दो अवस्था हुने गरी कार्यक्रम ल्याएको थापाले बताउनुभयो । ‘मलाई दुई वटा कुराको अपेक्षा थियो– एउटा कुरा नीति तथा कार्यक्रमले यो वर्ष विगतमा गर्दै आएको कुरालाई छोडेर यस्तो लम्बेतान कार्यक्रमको फेरिस्त होइन । यो संकटको बेला हाम्रो प्राथमिकता फेरिएको छ, हामी यसरी जान्छौँ भनेर संक्षिप्त तर मार्ग्निर्देशन गर्ने ढङ्गबाट आउँछ भन्ने थियो,’ उहाँले भन्नुभयो ‘त्यसले हामीलाई एउटा बाटो देखाउँछ भन्ने लागेको थियो । अर्को नीति तथा कार्यक्रमले हामी सबैलाई राष्ट्रिय संकल्पतिर डोर्याउछ भन्ने लागेको थियो ।’
संकटको बेलामा मार्ग्निर्देशनसहित सबैलाई भरोसा दिलाउने गरी कार्यक्रम नआएको थापाको दाबी रहेको छ ।





प्रतिकृया दिनुहोस