• शुक्रबार ६-२-२०८३/Friday 09-18-2026
  • 02:49:02

भैरहवा भन्सारले राजस्व संकलनमा लक्ष्य पुर्‍याउन सकेन, ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन 


शारदा मल्ल, भैरहवा । मुलुकको दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा भन्सार विभागले तोकेको राजश्व लक्ष्य भेट्टाउन सकेन । यो आर्थिक वर्षमा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख राजश्व तोकेको थियो । तर ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालयका  सूचना अधिकृत पूणर्प्रसाद लम्सालले जानकारी दिनुभयो । भन्सारले उठाएको राजश्व विभागले तोकेको लक्ष्य भन्दा करिब ३० प्रतिशतले कमी हो ।
भन्सार कार्यालयका अनुसार ०७६।०७७ मा कोरोना भाइरसका कारण आयातमा गिरावट आउँदा राजश्व लक्ष्य पूरा नभएको कार्यालयले जनाएको छ । सूचना अधिकृत लम्साल का अनुसार चैत पछि मुलुकमा लकडाउन भएकाले दैनिक राजश्व असुली ह्वात्तै घटेको थियो । राजश्व असुली बढी हुने मालवस्तु आयात लकडाउनपछि गिरावट भएको भन्सार तथ्यांकले देखाउँछ । लकडाउनपछि नेपाल भारत सीमा क्षेत्र बन्द हुँदा दैनिक खुद्रा सामाग्री आयातमा निकै कमी आएको छ । यस्तै, डिजल पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्ट्स, हार्डवेयर, मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल, कोइला, लगायतको आयातमा गिरावट आउँदा भन्सार लक्ष्य पूरा नभएको लम्सालले बताउनुभयो । तर लकडाउनको अवधिमा चामल लगायत का खाद्यान्न भने अघिल्लोे वर्षको तुलनामा बढी आयात भएको छ ।
भन्सार तथ्यांकअनुसार यो आर्थिक वर्षमा लकडाउनका कारण दैनिक राजश्व असुली १६ करोड रुपैयाँको हाराहारीले गिरावट आएको छ । लकडाउन हुनुभन्दा अघि दैनिक २४ करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन हुँदै आएकोमा लकडाउन पछि असुली दर घटेर ८ करोडमा सीमित भएको सूचना अधिकृत लम्सालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस