मिडियालाई लक्षित गर्दै मन्त्री बाँस्कोटाले भने : नकारात्मकताको यति ठूलो पहाड सिर्जना नगरौं, जहाँ आफैं पर्न सकिन्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अहिले मिडियामा कानुनका विषयलाई लिएर अनावश्यक हल्ला मच्चाउने काम भएको बताएका छन्।
मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरी ऐन कानुन निर्माणमा जुटेको बताएका हुन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै हरेक गतिविधिलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गरे।
‘सरकारले गरेका राम्रा कामहरू कतै देखाइँदैन सडकमा एउटा खाडल देख्यो भने त्यसैको प्रचार गरिन्छ,’ उनले भने,‘नकारात्मकताको यति ठूलो पहाडको सिर्जना नगरौं जहाँ आफैं पर्न सकिन्छ।’
मन्त्री बाँस्कोटाले संसदमा विज्ञापनसम्बन्धी विधेयक दर्ता गरेको बताउँदै यसले मिडियालाई फाइदा गर्ने बताए।
‘प्रेससम्बन्धी कानुन ल्याउँदैछौं, मान्छेहरू हल्ला मच्चाउँदैछन्, अँध्यारोमा तरबार नचलाऔं’, मन्त्री बाँस्कोटाले भने।
उनले सबभन्दा बढी माग मोफसलका मिडियाले गरेको भन्दै त्यसैलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको बताए।
उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्ब पुर्याउने दाबी गरे।
‘मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काममात्रै देखाउँछन्, खेदाइको पनि सीमा हुन्छ नि’, विज्ञापनका विषयमा भइरहेको आलोचनालाई लक्षित गर्दै मन्त्री बाँस्कोटाले भने,‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भनेझैं सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ।’
मन्त्री बाँस्कोटाले ६५ वर्ष पुगेका पत्रकारलाई निवृत्तिभरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको दाबी गरे।
उनले नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरूको तलब ५० प्रतिशत वृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए।
उनले विरोध भए पनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए।
आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने भन्दै मन्त्री बाँस्कोटाले कम्युनिष्ट सरकारले काम गर्दा अरुलाई पीडा भएको बताए।
उनले अब कम्युनिष्ट सरकार ५ वर्षमात्रै नभई आउँदो चुनावमा पनि जनताको मन जितेर चुनाव जित्ने बताए।
‘हामी निर्वाचनमा बुथ कब्जा गर्दैनौं, पाँच वर्षसम्म गरेका कामले जनताको मन कब्जा गर्छौं,’ उनले भने।




प्रतिकृया दिनुहोस