• आइतबार ८-९-२०८१/Sunday 11-24-2024
  • 10:03:16

मनसुन सुरु भएपछि बाढीपहिरोबाट १२८ को मृत्यु, ४६ जना बेपत्ता


मुलुकभर लगातारको वर्षाका कारण बाढीपहिरो परी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले  बाढीपहिरोमा १ सय २६ जना घाइते र ४६ जना वेपत्ता भएको जनाएको छ । निरन्तर वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढिरहेका छन् । मुख्य नदीमा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटर भन्दा बढी पानी परेको छ । उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको बहाव बढेको छ ।
उपत्यका बाहिरका मुख्य नदीमा पनि पानीको बहाव निरन्तर बढिरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । कोशी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ । यस्तै कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहावले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ४ गते आइतबारदेखि ६ गते बेलुकासम्म विभिन्न जिल्लामा सयौं स्थानमा पहिरो गएको छ । 
मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् । अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९र९, बझाङ र कास्कीमा ७र७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४र४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २र२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक/एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ । बझाङ र गुल्मीमा एकएक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ । बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुईदुई गरी ४ जना बेपत्ता भएका छन् । तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्र्थापनको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस