निर्माण सम्पन्न नहुदै भत्किन थाल्यो बेलहिया बुटवल सडक

निर्माण सम्पन्न नहुदै भत्किन थाल्यो बेलहिया बुटवल सडक

निर्माण सम्पन्न नहुदै भत्किन थाल्यो बेलहिया बुटवल सडक

अरुण ज्ञवाली

भैरहवा  कार्तिक

नेपालीमा एउटा उखान निकै प्रसिद्ध छ “ कहि नभएको जात्रा हाँडी गाँउमा ” अहिले यस्तै जात्रा देख्न पाईन्छ बेलहिया बुटवल ६ लेन सडकमा । समयमै निर्माण सँम्पन्न हुन त परै जाओस निर्माण पुरा भएका केही सडक खण्ड २ बर्ष नबित्दै कुरुप बन्दै गएका छन । बिच बिचमा सडक भासिएको देख्दा भन्न मन लाग्छ कठै हाम्रो देशको बिकाश । राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिईएको बेलहिया बुटवल ब्यापारिक मार्ग अहिले गौरब गर्न लायक छैन । २४ किलो मिटर सडक ३ बर्षमा पुरा गर्नै लक्ष्यका साथ निर्माण सुरु गरिएको थियो तर ८ बर्ष भयो पुरा हुन सकेको छैन । निर्माण पुरा भएका केही सडक भत्किएर कुरुप हुदा समेत सँम्बन्धित निकाय मौन छ ।

सडकको हरिबिजोग छ तर सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन । ससाना बिषयमा बेला बेलामा आन्दोलन गरेर नथाक्ने राजनैतिक दल समेत मौन बस्नु बिडम्बनापूर्ण छ । बेलहिया बुटवल ब्यापारिक मार्ग परियोजनाले भारत बाट आउने ओभर लोड ट्रकका कारण सडक भत्किएको भन्दै पन्छिदै आएको छ । सडकको दुर्दशा हेर्न भैरहवा बस पार्क पुगे हुन्छ ।

क्षमताभन्दा बढी लोडका भारबाहन गाडी गुडाउँदा निर्माणाधीन रुपन्देहीको बेलहिया–बुटवल ६ लेन सडकको आयु सडक बनी नसक्दै भत्किन थालेको छ । ५० टन क्षमताको आधारमा निर्माण भइरहेको सडकमा १ सय टन भारसहितका गाडी गुडाउने गरेका कारण सडक बनेर नसकिँदै भत्केको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।

 

बेलहियाबाट बुटवलसम्मको करिब २४ किलोमिटर सडकमा लुम्बिनी रोडमा रहेका उद्योग र बुटवल बेलहिया सडकखण्डको किनारमा रहेका फलाम उद्योगहरूले सडकको क्षमताभन्दा कैयौं गुणा बढी भार बोकेका कारण सडक बनेर हस्तान्तरण नहँुदै भत्किएको परियोजनाले गुनासो गरेको छ ।

 सडक ऐनले २ एक्सल भार भएको ६ चक्के गाडीले १६ हजार २ सय केजी (गाडी समेत), ३ वटा एक्सल भएको १० चक्के गाडीले २५ हजार केजी (गाडी समेत), ४ वटा एक्सल भएको १२ चक्के गाडीले ३१ हजार केजी (गाडी समेत), र ४ वटा एक्सल भएका १४ चक्के गाडीले ४० हजार २ सय केजी (गाडी समेत) गरी गुडाउने मापदण्ड तय गरेको भए तापनि यहाँ चल्ने गाडीहरूले १ सय टनसम्म अर्थात १ लाख केजीसम्म तौलका भार ढुवानी गर्ने गरेको पाइएको छ ।

 परियोजनका अनुसार बेलहिया बुटवल सडकखण्डको सडक डिजाईन गर्दा ५० टन क्षमताका आधारमा निर्माण भइरहेको छ । तर, सडकमा निर्वाध रुपमा १ सय टन क्षमताका गाडीहरू सोही बराबरका भार बोकेर हिँडेपछि सडकको आयु खस्किने सम्भावना बढेको हो । सडक आयोजना प्रमुख जिवेन्द्र मिश्रा भन्छन ‘भारतबाट आउने ओभरलोडका गाडीलाई यदि भन्सार बिन्दुमै पल्टी गराइए यस्तो समस्या आउने थिएन।’

 अधिकांश ठूला उद्योग सीमानाकादेखि १५ किलोमिटरभित्रकै दूरीमा पर्छन् । व्यवसायीका ठेकेदारहरूले विभिन्न स्तरबाट ओभरलोडलाई छुट गराउन थालेपछि सडक विभागले यातायात व्यवस्था विभागलाई चलानी नम्बर २२ मार्फत ०७३ भदौ १९ गते तत्काल ओभरलोडलाई नियन्त्रण नगरे डिजाइन सर्भिस लाइफसम्म पेभमेन्टको आयु नहुने तथा पेभमेन्टमा ठूलो क्षति पुग्ने हुँदा कानुनअनुसार मालवहाक गाडी गुड्ने अनुमति माग गरेको थियो ।

सोहीअनुसार यातायात व्यवस्था विभागले चलानी नम्बर १२५४ मार्फत ०७३ असोज १९ गते यातायात व्यवस्था कार्यालय (सवारी) लुम्बिनी अञ्चललाई सडक विभागको पत्रानुसार कार्यान्वयन गर्न निर्देशनात्मक पत्राचार गरेको थियो ।

०७३ असोज १९ गते ओभरलोडले सडक बिग्रँदै गएका कारण सुधारका लागि मातहातको कार्यालयलाई निर्देशानात्मक पत्राचार गरेको त्यही यातायात व्यवस्था विभागले अहिले ओभरलोडको छुटमा सहमति जनाएको पाइएको छ ।

करोडौं रुपैयाँ खर्चिएर निर्माण गरिएका योजनाहरूमा क्षमताभन्दा बढी भार बोकेर निर्वाध गुड्ने मालबाहक साधनलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकाय पनि मौन बस्नु दुर्भाग्यपूर्ण छ । 

निर्माणमा ढिलाई

मुलुककै नमुना सडकको रूपमा लिइएको बेलहिया–बुटवल व्यापारिक मार्ग निर्माणमा ढिलाइ हुँदा यात्रुले चरम सास्ती भोगेका छन् । नमुना सडक समयमा सम्पन्न नहुँदा यात्रु, चालक र सडकछेउका बासिन्दाले हैरानी भोग्दै  आएका हुन् ।

ओमसतिया गाँउपालिका ठुटीपिपलका अमर थापाले धुलोले गर्दा विद्यालय जाने बालबालिका बढी प्रभावित भएको गुनासो गरेका छन् । उनले भने, ‘धुलो खान थालेको वर्षौं भयो, सडकमा हिँड्नै सकिन्न ।’ मणिग्रामदेखि पडसरी सम्मका स्थानीयले गत ६ वर्षदेखि वर्षाका बेला हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका छन् ।

आयोजनाले आगामी असार मसान्तसम्म निर्माणको काम सक्ने लक्ष्य राखेको बताइएको छ । ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ । रूपन्देहीको बेलहिया बुटवलको ६ लेन सडकलाई मुलुककै नमुना सडकका रूपमा व्याख्या गरिन्छ । नेपाली लगानी र नेपालकै इन्जिनियरिङ डिजाइनमा निर्माण हुने भएकाले यसलाई नमुना सडकको रूपमा हेरिएको हो । तर, नमुना सडकको निर्माण भने कछुवा गतिमा अघि बढेको छ ।

आर्थिक वर्ष २०६८÷६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०÷७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बोलपत्र आह्वान गर्न अर्थ मन्त्रालयसँग स्वीकृति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । सुरुवातको वर्ष राजमार्ग चौराहादेखि मणिग्रामसम्म बोलपत्र आह्वान समयमै गरेकाले निर्माण पनि सम्पन्न गर्न सकेको उनको भनाइ छ । उनले नागरिकले धुलो खान बाध्य भएको कुरा यथार्थ रहेको बताउँदै ढिलोमा २०७५ सालको माघ सम्ममा सडकमा धुलो र हिलो नहुने दाबी गरे । ठूला आयोजना समयमा पूरा नहुने भएकाले आमनागरिकले सास्ती पाउने गरेका छन् ।